अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले आफ्नो आसन्न चीन भ्रमणमा मानवअधिकार र प्रदर्शनकारीको स्वतन्त्रतालाई उच्च प्राथमिकतामा राख्नुपर्नेमा विश्वका अधिकारवादी नेताहरूले जोड दिएका छन् । उनीहरूले विदेशमन्त्रीको चीन भ्रमणको कार्यसूचीमा ती विषयलाई उच्च प्राथमिकतामा समावेश गर्न सुझाएका हुन् । चिनियाँ अधिकारीहरूसँगको भेटवार्तामा विदेशमन्त्री ब्लिङ्केनले हालैका शान्तिपूर्ण विरोधप्रदर्शनमा पक्राउ परेका युवायुवतीको रिहाईबारे छलफल गर्नुपर्ने अमेरिका अखबार द हिलमा लेखक याङ जियान्लीले लेख्नुभएको छ । कोभिड–१९ विरुद्ध चीन सरकारले अवलम्बन गरेको नीतिको विरोध गरेकाहरूलाई थुनामुक्त गर्नुपर्नेमा उहाँले जोड दिनुभएको छ । विदेशमन्त्री ब्लिङ्केन आगामी फेब्रुवरीको प्रारम्भमा चीनसँगको आफ्नो देशको जटिल सम्बन्ध सुधार्न बेइजिङ भ्रमणमा निस्कने बताइए पनि त्यसको औपचारिक घोषणा भएको छैन । चीनले आर्थिक वृद्धिका निम्ति गरेका घोषणा स्वागतयोग्य भए पनि नागरिक स्वतन्त्रता उत्तिकै महत्वपूर्ण भएकाले त्यसतर्फ अमेरिकी चासो प्रतिविम्बित हुनुपर्ने याङको सुझाव छ । भ्रमणका बेला यी विषय ओझेलमा पर्ननहुने उहाँको धारणा छ ।