मोफसलको अन्तर्राष्ट्रिय आमन्त्रित फुटवल प्रतियोगिता बुढा सुब्बा फुटवल प्रतियोगिताको २३औँ संस्करण यही फागुन दोस्रो सातादेखि हुने भएको छ । विसं २०७६ मा सम्पन्न २२औँ संस्करणपछि कोभिडका कारण २०७७÷७८ मा बुढासुब्बा गोलकप आयोजना हुन सकेको थिएन । यो वर्षको फागुन १३ देखि २० गतेसम्म सञ्चालनको तयारी भएको आयोजकले जनाएको छ । कोरोना महामारीले भएको आर्थिकमन्दीका कारण रोकिएको प्रतियोगिता सञ्चालनको तयारी भइरहेको धरान फुटबल क्लबका अध्यक्ष किशोर राईले जानकारी दिनुभयो । प्रतियोगिताका लागि धरान उपमहानगरपालिका, प्रदेश सरकारसँग सहकार्य भइरहेको अध्यक्ष राईले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगितामा सदा झै आठ वटा ए डिभिजन क्लबले सहभागिता जनाउने छन् । काठमाडौँका दुई, पोखराको एक, भारतको दुई र प्रदेश १ बाट आयोजकसहित तीन क्लबका स्तरीय टिमले सहभागिता जनाउने तय भएको अध्यक्ष राईले जानकारी दिनुभयो । एन्फाबाट प्रतियोगिताका लागि स्वीकृति लिइसकेको क्लबले जनाएको छ । दुई वर्षदेखि रोकिएको प्रतियोगितालाई सफल बनाउन सबै सरोकारवालासँग छलफल सुरु गरिएको अध्यक्ष राईले जानकारी दिनुभयो । आर्थिक अभावले २२औँ संस्करणको बाँकी बक्यौता पनि मिलाउने काम भइरहेको आयोजकले जनाएको छ । अध्यक्ष राईले २३औँ संस्करण भव्य समापन गरेर क्लबको नेतृत्व हस्तानतरण गर्ने तयारी गरेको जानकारी गराउनुभयो । २२औँ संस्करण २०७६ फागुनमा भएको थियो । प्रतियोगितामा नेपाल पुलिस क्लबलाई ३–१ ले पराजित गर्दै मनाङ मस्र्याङ्दी क्लब काठमाडौँ विजयी भएको थियो ।