प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भूकम्प प्रतिरोधी संरचनाको निर्माण, भौतिक पूर्वाधारका क्षेत्रमा राज्यको तर्फबाट अवलम्बन गरिएका सबै नीतिगत र कानुनी प्रबन्धहरूको कडाइपूर्वक कार्यान्वयन गर्नुपर्ने बताउनुभएको छ । यस्तै उहाँले पूर्वसचेतनाका क्षेत्रमा आ–आफ्नो क्षेत्रबाट सम्भव योगदानका साथ सरकारसँग हातेमालो गर्न समस्त नेपालीमा अपिल गर्नुभएको छ । प्रधानमन्त्री दाहालले २५औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा एक सन्देश दिनुहुँदै पुनःनिर्माणको क्षेत्रमा बाँकी रहेका कामको पूर्णताका साथै भूकम्प प्रतिरोधी संरचना, चेतना र व्यवहारमा सिङ्गो देशलाई लयबद्व बनाउने सरकारको प्राथमिकता हुने बताउनुभएको छ । ‘भूकम्प सुरक्षित पूर्वाधार, सुरक्षित जीवनको आधार’ भन्ने मूल नाराका साथ २५औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस देशैभरि विविध सचेतनामूलक कार्यक्रमका साथ मनाइँदैछ । विसं १९९० माघ २ गतेको विनाशकारी भूकम्पको स्मरणमा प्रत्येक वर्ष यो दिवस मनाउने गरिएको छ । प्रधानमन्त्री दाहालले यस दिवसका अवसरमा सुरक्षित, आधुनिक र भूकम्प प्रतिरोधी संरचना निर्माण, विपद्बारे पर्याप्त ज्ञान र पूर्वसूचना एवं आवश्यक पूर्वसतर्कताका निम्ति सम्पूर्ण नेपालीलाई अपिल गर्नुभएको छ । विसं २०७२ वैशाख १२ गते गएको महाभूकम्प नेपालको इतिहासमा एउटा अकल्पनीय एवम् त्रासदीपूर्ण घटना थियो । त्यसयता सिङ्गो देशको ध्यान भूकम्प प्रतिरोधी संरचनाको निर्माणका साथै आकस्मिक विपद्हरूका सन्दर्भमा पूर्वसचेतनामा केन्द्रित हुँदै आएको छ । पुनःनिर्माण प्राधिकरण नै गठन गरेर भूकम्पबाट क्षतिग्रस्त सरकारी, सामुदायिक संरचना एवं निजी घरहरूको पुनःनिर्माण सरकारको प्राथमिकतामा पर्दै आएको छ । प्रधानमन्त्रीले भन्नुभएको छ, “यस दिवसले आधुनिक, गुणस्तरीय र प्रतिरोधी संरचनाको निर्माण एवं सामाजिक सचेतनाका क्षेत्रमा महत्वपूर्ण सन्देशका साथ अभिप्रेरित गर्ने विश्वास लिएको छु ।” उहाँले आफ्नो दोस्रो प्रधानमन्त्रीत्वकालमा पुनःनिर्माणका क्षेत्रमा भएका काम सार्वजनिक गर्ने, त्यसको पारदर्शिता कायम, निजी आवास पुनःनिर्माणका लागि दिइँदै आएको अनुदानमा रू एक लाख थप गर्ने लगायतका काम भएको स्मरण गर्नुभएको छ । प्रधानमन्त्री दाहालले भूकम्पबाट क्षति भएका आवासको प्रबलीकरणका निम्ति रु ५० हजार थप गर्ने, राष्ट्रिय सहमति र सहकार्यको वातावरणका साथै पुनःनिर्माणलाई तीव्रता दिने, भूकम्पबाट क्षतिग्रस्त सार्वजनिक संरचनाहरू दू्रत गतिमा पुनःनिर्माण गर्ने लगायतका महत्वपूर्ण काम सम्पन्न भएको उल्लेख गर्नुभएको छ ।