धार्मिकरूपमा पवित्रस्थल मानिएको कैलालीको गोदावरी धाममा आज बाह्रराशि दर्शन मकरमेलाको शुभारम्भ गरिएको छ । धाममा आज एक कार्यक्रमका बीच सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले उक्त मकरमेलाको शुभारम्भ गर्नुभयो । हरेक वर्ष झैँ यस वर्ष पनि एक कार्यक्रमका बीच मकरमेलाको शुभारम्भ गरिएको हो । मेलाका अवसरमा बाह्रराशि नवग्रह, २७ नक्षत्रको स्थापना तथा लक्ष्यहवन, विभिन्न पुराण पारायण, ग्रहपूजा, ग्रहशान्ति, भजनकीर्तन, प्रवचन आदि हुने आयोजक गोदावरीधाम विकास समितिले जनाएको छ । धाममा विभिन्न धार्मिक गतिविधि भइराख्ने भएकाले नेपालका मात्रै नभई छिमेकी राष्ट्र भारतका विभिन्न स्थानबाट भक्तालु तथा दर्शनार्थीहरू आउने गर्छन् । माघ महिनामा विभिन्न धार्मिक कार्यक्रम जस्तै विवाह, व्रतबन्धलगायत शुभ कार्य गरिने भएकाले पनि यस समयमा झनै मानिसको घुइँचो लाग्ने गर्दछ । मकर मेलाको सम्पूर्ण तयारी पूरा भएको मूल आयोजक समितिका संयोजक पदमराज जोशीले बताउनुभयो । मकर मेलाको लागि कुम्भबाटिका, स्नान कुण्ड, बाटोघाटो निर्माणलगायत संरचना बनेका छन् । मकर मेलाका लागि नै गोदावरीमा स्थानीय बजार लाग्न सुरु भएको छ । मकर मेलाको समयमा १२ दिनसम्म आआफ्नो राशिको ग्रह पूजा, ग्रह शान्ति र अन्य पूजा गर्न सकिने छ । आजदेखि शुभारम्भ भएको मकर मेला माघ १२ गतेसम्म लाग्ने गोदावरीधाम विकास समितिले जनाएको छ । मेलाकै अवसर पारेर सो क्षेत्रसम्म पुग्नका लागि कैलालीको गोदावरी नगरपालिकाले निःशुल्क बसको व्यवस्था गरेको गोदावरी नगरपालिकाका नगरप्रमुख वीरेन्द्र भट्टले जानकारी दिनुभयो । मेलामा जाने श्रद्धालु भक्तजनको सहजताका लागि निःशुल्क बसको व्यवस्था गरिएको नगरप्रमुख भट्टको भनाइ छ ।