कांग्रेस आफू अनुकूल सरकार बनाउने रणनीतिमा छ : गौतम

 

खोटाङ, २५ साउन

नेकपा एमालेका स्थायी कमिटी सदस्य राजेन्द्र गौतमले गठबन्धनलाई ‘युज’ गरेर कांग्रेस आफू अनुकूल सरकार बनाउने रणनीतिमा रहेको दाबी गरेका छन् ।

प्रेस चौतारी नेपाल खोटाङले बुधबार दिक्तेलमा आयोजना गरेको पत्रकार सम्मेलनमा स्थायी कमिटी सदस्य गौतमले कांग्रेस सकेसम्म एकलौटी सरकार बनाउने, मदेसवादी दलको साथ लिएर कम्युनिस्ट बेगरको सरकार बनाउने वा केही नलागेको अवस्थामा मात्र माओवादी सहितको सरकार बनाउनेगरी रणनीतिमा अघि बढेको दाबी गरेका हुन् ।

‘शेरबहादुर मदेसवादी दलसहित आफ्नो बहुमत हुनेगरी मात्रै माओवादी र नेकपा (एस)लाई सिट दिँदैछ । निर्वाचनपछि देउवाले चाहेको अनुकूल सरकार बनाउने, माओवादी पनि सरकारमा बस्न नसक्ने परिस्थिति निर्माण गरेर जान खोज्दैछ,’ गौतमले भने, ‘प्रचण्ड कांग्रेसलाई बहुमत ल्याउन नदिने, एमालेलाई एउटा साइजमा ठेगान लाउने र आफू तेस्रो शक्तिका रूपमा आएर सरकार बनाउने मूल जड बन्ने भन्ने ठाउँमा छ ।’ गौतमले कांग्रेसका लागि नभै प्रचण्ड र माधव नेपालका लागि गठबन्धन चाहिएको बताए ।

अर्को प्रशंगमा गौतमले ‘एक हातमा सिँदुर र अर्को हातमा नागरिकता दिने’ नागरिकता विधेयक स्वीकार्य नहुने बताए ।  उनले नेपाली चेलीलाई बिहे गरेर इन्डिया लगेको अवस्थामा सात वर्षसम्म नागरिकता नपाउने तर त्यहाँको चेली बिहे गरेर ल्याएपछि ‘एक हातमा सिँदुर र अर्को हातमा नागरिकता दिने’ व्यवस्थासँग सहमत हुन नसकिने बताएका छन् ।

नागरिकता राष्ट्रिय सुरक्षासँग सम्बन्धित विषय भएकाले वर्तमान नागरिकता विधेयक संशोधन नगरे किमार्थ स्वकार्य नहुने गौतमको भनाई थियो । ‘जापान गएर प्रचण्डले राष्ट्रपतिले नागरिकता विधेयक फेरी पार्लियामेन्टमा फिर्ता गरिन् भने हामी पार्लियामेन्टबाट फर्काउँछौं भन्नुभए छ । हामी सच्याउँछौं भन्नु भएन,’ गौतमले भने, ‘बहुमतले पास गरिहाल्छ भन्ने मान्यताबाट निर्देशित भयो भने एउटा कुरा होला तर एक चोटि पार्लियामेन्टमा फर्काएर पुनर्विचार गर भन्ने संवैधानिक अधिकार राष्ट्रपतिले लिन्छ ।’

स्थायी कमिटी सदस्य गौतमले चुनावको मिति घोषणाअघि प्रचण्ड सहितका विशिष्ट नेता तथा एमाले अध्यक्ष ओलीबीच सहकार्यका लागि वार्ता भएको दाबी गरे । उनी एमाले जिल्ला कमिटीको प्रशिक्षण कार्यक्रमको सिलसिलामा दिक्तेल आइपुगेका हुन् ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *