काठमाडौं साउन ४ गते ।
अबिरल वर्षाका कारण सुदूरपश्चिमका विभिन्न जिल्लाहरुमा बाढी पहिरो जाँदा मूख्य राजमार्गहरु अबरुद्ध भएका छन् । प्रहरीले दिएको जानकारी अनुसार दार्चुला, बैतडी र बझाङमा बाढी पहिरोका कारण राजमार्गहरु अबरुद्ध भएका हुन् । राजमार्गमा यातायात सञ्चालन ठप्प भएको छ ।
सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार दार्चुलाको शैल्य शिखर नगरपालिका, बैतडीको पाटन नगरपालीका लगाएतका ठाउँहरुमा भीषण वर्षाका कारण बाढी पहिरो गएको छ । त्यसैगरी बझाङको छविसपाथिभेरा गाउँपालीकामा पहिरो खस्दा सडक अबरुद्ध भएको प्रहरीले जनाएको छ । दार्चुला र बैतडीका विभिन्न ठाउँमा स्थानीय र प्रहरीले संयुक्त रुपमा पहिरो पन्छाएर सडक खुलाउने प्रयास गरिरहेका छन् । बझाङको जालेबगरमा सेती नदीको बहाब बढेका कारण स्थानीयहरु त्रसित भएका छन् ।