जीउँदो ईतिहास खोटाङका १०८ वर्षीय लक्ष्मीप्रसाद गिरीसँग काठमाडौंमा भेट्दा

केही महिना अघि खोटाङ ऐंसेलुखर्क रिप्दुङका अमृत पुरीले १ सय ८ वर्षीय लक्ष्मीप्रसाद गिरीको बारेमा एउटा भेटमा कुरा गर्नु भएको थियो । सयवर्षभन्दा बढी उमेरका उनलाई भेट्ने मेरो चाहना जाग्यो । आफ्नै जिल्लाका यति धेरै उमेरका अभिभावकसँग भेट्नु पर्ने मलाई लागिरहेको थियो ।

उहाँ काठमाडौंको कपनमा बस्नु हुँदो रहेछ । भाईटिकाको भोलिपल्ट अमृत पुरीले जीउँदो ईतिहाससँग भेट्ने चाँजोपाँजो मिलाउनु भयो । मलाई खुसी लाग्यो । भाई धिरज जिसीसँग जाने सल्लाह भयो । हामी तीनजना उहाँको निवास कपन भण्डारी गार्मेन्ट नजिक भेट्न पुग्यौँ । मैले यति धेरै उमेरको कोहीसँग आजसम्म भेट गरेको थिइँन ।

हामी पुग्दा उहाँ खाना खाँदै हुनुहुँदो रहेछ । केहीबेरमा किचनबाट उहाँको छोराको सहारामा बैठक कोठामा आउनु भयो । ओल्लो कोठाबाट पल्लो कोठामा जाँदा उहाँलाई परेको सकस र सहाराको खाँचोले मलाई गम्भीर बनायो । जीवनको अन्तिम क्षण कति धेरै कष्टप्रद हुन्छ भन्ने गहिरो अनुभूति भयो । उहाँलाई कुर्सीमा बसाइयो ।

हामीले उहिलेका उहाँको समकालिनको नामका सहारा लिएर परिचय दिन खोज्यौँ । सबैलाई आशीर्वाद दिनु भयो । उहाँको छोरा मार्फत् उहाँलाई भेट्न पुग्नुको जानकारी गराएऔँ । पहिलो कुरा उहाँबाट राणाकालदेखिको अनुभव लिनु थियो । दोस्रो उहाँको दीर्घायुको शुभकामना सहितको सम्मान–पत्रको लागि बिबरण लिनु थियो ।

उहाँ वि.सं. २००७ सालमा खोटाङ जिल्लाको पाथेका गाउँको वडा सदस्य हुनु भएको रहेछ । वि.सं. २०१७ सालमा सोही वडाको प्रमुख समेत हुनु भएको रहेछ । त्यसैगरी वि.सं. २०३९ सालसम्म जिम्मुवाल (मुखिया) हुनु भएको रहेछ । उहाँको अशक्तताको कारण धेरै कुराकानी भने गर्न मिलेन । छोराको सहाराबाट केही कुराकानी गर्ने प्रयत्न गरियो ।

जेजति कुराकानी भयो अविष्मरणीय भयो । उहाँका छोरा, छोरी, नाती, नातिनी, पनाती, पनातिनी, खलाती, खलातिनी सहित ८४ जना सन्तान भएका रहेछन् । सबै थाहा पाउँदा रोमाञ्चित बनायो । केही दिनमा उहाँको दीर्घायुको कामना सहितको सम्मान–पत्र सहित उहाँसँग पुनः भेट्ने छौँ । हजुरबुबाप्रति दीर्घायुको शुभकामना !

परिवर्तन भट्टराई (कृति)
अध्यक्ष
प्रधानता मिडिया परिवार

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *