इरानले बन्दी आदानप्रदान सम्झौताअन्तर्गत आज पाँच जना अमेरिकी नागरिकलाई रिहा गरे पनि इरानमा अझै पश्चिमा देशका नागरिक बन्दी जीवन बिताइरहेका मानवअधिकारवादी संस्थाहरूले बताएका छन् । आजको बन्दी आदानप्रदानमा पनि सबै अमेरिकी बन्दीलाई इरानले थुनामुक्त नगरेको उनीहरूले जनाएका छन् । इरानी मूलका अमेरिकी नागरिक शहबिब दलिली अझै इरानमा रहेको भर्जिनियास्थित दलिली परिवारले बताएको छ । सन् २०१६ मा इरान भ्रमणमा पक्राउ परेका उनी अहिलेसम्म हिरासतमुक्त नभएको उनको परिवारले जनाएको छ । आजको मुक्तिमा उनी नपरेकामा उनीहरूले अमेरिकी सरकारसमक्ष दुःख व्यक्त गरेका छन् । अर्का एक जना अमेरिकी नागरिकलाई सर्वोच्च अदालतले मृत्युदण्डको फैसला सुनाएको छ ।
उक्त फैसला जुनसुकै बेला कार्यान्वयन हुनसक्ने उनका परिवारले बताएका छन् । इरानले पक्राउ परेका सबैजनामाथि उपयुक्त कानुनी प्रक्रियाअनुसार कारबाही हुने बताउँदै हिरासतमा लिइएको विषयलाई प्रचारप्रसार नगर्न सम्बद्ध व्यक्तिका परिवारलाई चेतावनी दिँदै आएको छ । एम्नेष्टी इन्टरनेशनलका अनुसार सन् २०२० मा पक्राउ परेका श्रमिक हकहितका पक्षधर इरानी मूलका बेलायती नागरिक एकान्तस्थलमा बन्दी बनाइएका छन्भने ६० वर्षकी जर्मनीको नागरिकता पाएकी नहिद तागभीलाई दश वर्ष नौ महिनाको सजाय सुनाएर इभिन कारागारमा राखिएको छ । त्यस्तै अर्का एक जना इरानी मूलका जम्सीद शर्माद सन् २०२० देखि नै आतङ्कवादी क्रियाकलाप गरेको अभियोगमा थुनिएका छन् । फ्रान्स, अष्ट्रिया, स्पेन, स्वीडेनलगायत पश्चिमा मुलुकका १२ जनाभन्दा बढीलाई इरानले थुनेको एम्नेष्टीले जनाएको छ ।