लमजुङ २० असोज
मनाङ जाने एकमात्र बेसिशहर चामे सडक वर्षाका कारण बाढीपहिरोले अवरुद्ध भएको छ । बुधबार दिउसोदेखि मर्स्याङ्दी गाउँपालिका ४ का विभिन्न ठाउँमा पहिरो गएपछि बेंसीसहर–चामे सडक अवरुद्ध भएको हो ।
अर्खलेबेंसीदेखि जगतसम्मको बाटो ठाउँठाउँमा पहिरो गएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार बेंसीसहर–चामे सडकको मनाङ खण्डमा पनि बाढीपहिरोले सडक क्षतविक्षत बनाएको छ ।
मनाङको तल्लो क्षेत्र नासों गाउँपालिका ३, खोत्रोमा बाढीले सडक बगाएपछि यातायात सेवा अवरुद्ध भएको छ । बाढीपहिरोले बाटो बगाउने, पहिरो आउने र बगाउने गर्नाले सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर विष्णु बिकका अनुसार बुधबार अपराह्न सवा ४ बजेतिर बेंसीसहर–चामे सडक खण्डको मर्स्याङ्दी गाउँपालिका ४ मा पर्ने अर्खले र जगतबीचको २ ठाउँमा माथिबाट पहिरो खसेपछि सडक पूर्णरुपमा अवरुद्ध भएको छ । सडक अवरुद्ध भएपछि मर्स्याङ्दी गाउँपालिकाको उत्तरी क्षेत्र साथै हिमाली जिल्ला मनाङको सिंगो बासिन्दाले सास्ती खेप्नु परेको छ ।
जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रकाश श्रीमलले अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको बताए । ‘पानी परिरहेको छ । सडक खुलाउन सकिरहेको छैन’ उनले भने । प्रमुख जिल्ला अधिकारी सुशील बैद्यले सडक खुलाउनको लागि प्रहरी सहित डोजर लगिएकोमा अबिरल वर्षाका कारण बाटो खुलाउन नसकिएको बताए ।