काठमाडौं, १० असाेज
नेपाली फोटोग्राफर गौतम धिमाल ‘अन्तर्राष्ट्रिय फोटोग्राफी अवार्ड (आईपीए) २०२२’ बाट सम्मानित हुने भएका छन् । आगामी २५ अक्टोबर, २०२२ मा अमेरिकाको न्युयोर्क शहरस्थित कार्नेगी हलको जाङ्केलमा उनलाई सम्मान गरिनेछ ।
यो अवार्डबाट सम्मानित हुने धिमाल पहिलो नेपाली फोटोग्राफर हुन् । यसअघिका अवार्ड समारोहमा नेपालमा खिचिएका तस्बिरहरूले अवार्ड पाए पनि ती तस्बिरहरू अन्तर्राष्ट्रिय फोटोग्राफरले खिचेका थिए । धिमाल लोकेशन नेपाल र गेहेन्द्र धिमाल फाउण्डेशनका अध्यक्षसमेत हुन् ।
धिमाललाई उनको परियोजना ‘हिमालयन फेसन एडभेन्चर’ को लागि विज्ञापन÷फेसनको व्यावसायिक श्रेणीमा तेस्रो पुरस्कार प्रदान गरिने भएको छ । अहिले १९औं वर्षमा आयोजना भईरहेको इन्टरनेशनल फोटोग्राफी अवार्ड (आईपीए) ले अवार्डका लागि हरेक वर्ष हजारौं तस्बिर सबमिशन प्राप्त गर्दछ ।
मुख्यतया, फेसन, विज्ञापन र प्रकृति र वन्यजन्तुको लागि आफ्नो फोटोग्राफी सीपको प्रयोग गर्ने उनी लामो समयदेखि नेपालमा छायांकन हुने विदेशी फिल्मका लागि लाइन प्रोड्युसरको रूपमा काम गरिरहेका छन् । हाल उनले स्वदेशी फिल्म निर्माणमा समेत पाइला चालेका छन् ।
उनले बीबीसी वान, फक्स, र डिस्नेसँगै रेड बुल, नेस्टी, कोकाकोला, पानासोनिक, भिक्स, निप्पन पेन्टस, सामसोनाइट, डोसान, किलगोगसलगायतका ब्राण्डसँग सहकार्य गरिसकेका छन् ।
अवार्ड आयोजकका अनुसार, व्यावसायिक विधाका १३ विजेताहरूले प्रत्येकले नगद पुरस्कार र न्यूयोर्क शहरमा लुसी अवार्ड्स गालामा भाग लिन दुईवटा टिकटहरू प्राप्त गर्नेछन् । अवार्डमा द इन्टरनेशनल फोटोग्राफर अफ द इयर (व्यावसायिक वर्ग), वर्षको खोज (गैर–व्यावसायिक वर्ग), इन्टरनेशनल फोटोग्राफर अफ द इयर (व्यावसायिक श्रेणी) को विजेताले लुसी अवार्ड्स गालामा प्रदान गरिने लुसी ट्रफी र ४ लाख १० हजार अमेरिकी डलर नगद पुरस्कार प्राप्त गर्नेछन् ।
त्यस्तै, डिस्कभरी अफ द इयर (गैर–व्यवसायिक) विधाका विजेताले लुसी अवार्ड्स गालामा प्रदान गरिने लुसी ट्रफी र ४५ हजार डलर नगद पुरस्कार प्राप्त गर्नेछन् ।