आदर्शवाद (चैतन्यवाद) र द्वन्द्वात्मक भौतिकवाद (वैज्ञानिकता) मिश्रित खिचडी नेपाली समाज ।

 


काठमाडौं, पौष १८ गते ।

दार्शनिक हिसाबले सामान्यतया दुई खालका विश्वदृष्टिकोण प्रचलित रहेका छन् । पहिलो विश्वदृष्टिकोण आदर्शवाद अर्थात् चैतन्यवाद हो । त्यसैगरी अर्को विश्वदृष्टिकोण द्वन्द्वात्मक भौतिकवाद अर्थात् वैज्ञानिकता हो । यी दुई विश्वदृष्टिकोणमा व्यापक भिन्नता छ । यिनीहरु दुई विपरीत दृष्टिकोण हुन् । आदर्शवाद अर्थात् चैतन्यवादले यो संसार कुनै अलौकिक तथा अदृष्य चेतनतत्वले निर्धारित नियमद्वारा सञ्चालन गरेको विश्वास गर्छ । यस दृष्टिकोणलाई ईश्वरवाद, रहस्यवाद, दैवीशक्तिको सिद्धान्त जस्ता नामहरुले पनि चिनिन्छ । यसले मानव र मानव समाजलाई रुढीवाद र कर्मकाण्डमा फसाउँछ । पुनर्जन्म, पूर्वजन्म र भाग्यवादतर्फ लैजान्छ । प्रगति र विकासको एक प्रमुख आधार प्रश्नलाई मारिदिन्छ वा भुत्ते बनाइदिन्छ । त्यसैकारण यो चिन्तन प्रणाली मार्फत् आधुनिक, विकसित, वैज्ञानिक, सुशासित र व्यवस्थित समाज निर्माण गर्न सकिँदैन । यो विकासका लागि बाधक दृष्टिकोण हो । कुइराको काग जस्तै दिशा र छितिज विहिन दृष्टिकोण हो । द्वन्द्वात्मक भौतिकवाद (वैज्ञानिकता) ले प्रकृति स्वयम् र आदि तत्वद्वारा सञ्चालित भएको ठान्छ । यसको सञ्चालन स्वयम् आफैँभित्र उत्पन्न गतिद्वारा भइरहेको विश्वास गर्छ ।

आफैँमा अन्तर्निहित पदार्थ र चेतनतत्वद्वारा सञ्चालन भएको मान्दछ । मानव समाज विराट प्रकृतिको एक अंश हो । त्यसैले मान्छेले प्रकृतिका नियमहरुलाई बुझ्ने र उपयोग गर्ने प्रयत्न गर्नुपर्छ । किनकि मान्छे प्रकृतिभन्दा फरक र माथि छैन् । मानव र मानव समाजको जीवनलाई प्रकृतिसँग सहज र स्वाभाविक बनाउने कुरामा जोड दिनुपर्छ । मानव समाजलाई खुशी, सुखी र समृद्ध बनाउन द्वन्द्वात्मक भौतिकवादी (वैज्ञानिकता) विश्वदृष्टिकोणलाई अबलम्बन गर्नुपर्छ । यो दृष्टिकोणले प्रकृतिमा निहित पुरुषतत्व र स्त्रीतत्वको द्वन्द्वात्मकतालाई आधार बनाउँछ । सृष्टिको विशालता र सुक्ष्मतासम्म द्वन्द्वात्मक भौतिकवाद विद्यमान रहेको छ । त्यसैलाई मानव समाजमा ढाल्नुलाई वैज्ञानिकताको संज्ञा दिएको हो । सृष्टिमा रहेका अनेक प्रवर्गहरुको एकअर्कामा परिपूरक एवम् द्वन्द्वात्मक सम्बन्ध रहेको हुन्छ । सोही आधारमा हेर्ने, बुझ्ने र निष्कर्ष निकाल्ने गरिन्छ । उक्त विश्वदृष्टिकोणका आधारमा नै विश्व आजको ठाउँमा आइपुगेको हो । नेपाली समाजमा यी दुई दृष्टिकोणको स्पष्ट कित्ताकाट छैन् । एक व्यक्ति, परिवार, समुदाय र समाजले जानेर वा नजानेर उपरोक्त दुबै विश्वदृष्टिकोणलाई अबलम्बन गरेको देखिन्छ । उक्त खिचडी बुझाईका आधारमा निर्मित व्यवहार नेपाली समाज प्रगतिको एक प्रमुख बाधक हो ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *