शरीरको निरन्तर क्रियाशीलतालाई आंगिक विशेषता अनुसार विश्राम दिन सक्नु पर्दछ ।

 


काठमाडौं, पौष १३ गते ।

शरीर जैविक वस्तु हो । त्यसैले शरीरलाई विश्रामको आवश्यकता पर्छ । शरीरका प्रत्यक अंग जन्मदेखि मृत्युसम्म सक्रिय रहेका हुन्छन् । तिनीहरुको क्रियालाई रोक्न सकिँदैन । यसको अर्थ विश्राम रहित अनवरत रुपमा क्रियाशील बनाउने भन्ने होइन । उसको निरन्तर क्रियाशीलतालाई उक्त अंगको विशेषता अनुसार विश्राम भने दिन सक्नु पर्दछ । शरीरलाई विश्राम दिन सकिएन अर्थात् दिन जानिएन भने शरीरका अंगहरु शिथिल हुन पुग्छन् । परिणामतः तिनीहरुले राम्ररी काम गर्न सक्दैनन् । उनीहरुको क्रियाशीलतामा शिथिलता आउँछ । त्यसैले शरीरलाई विश्राम दिने कला जान्नु पर्छ ।

शरीर भन्ने बित्तिकै स्थुल शरीर र मानसिक शरीर भन्ने बुझ्नु पर्छ । भौतिक शरीरले विश्राम पाउने तर मानसिक अवस्था भने तनावयुक्त भइरहने हो भने शरीरलाई विश्राम प्राप्त हुँदैन् । स्वास्थ विज्ञहरुका अनुसार शरीरलाई पूर्ण विश्राम दिनको लागि गहिरो निद्रा अनिवार्य हुन्छ । त्यसैले टु स्लिप बराबर टु रिल्याक्स भन्ने गरिन्छ । शरीरको कार्य क्षमता घट्न नदिन र निरोगी बनाई राख्न विश्राम जरुरी हुन्छ । शरीरलाई विश्राम दिँदा मस्तिष्कले पनि बिश्राम पाउँछ । त्यसैगरी शरीरका कोष र इन्द्रियहरुले पनि आराम पाउँछन् । विश्राम गर्दा शरीरले गुमेको उर्जालाई पुनः प्राप्त गर्छ । योग विज्ञानले विश्रामका विभिन्न तरिकाहरु सुझाएको छ ।

पूर्ण मात्रामा निद्रा लिने, आरामदायी कुर्सीमा आँखा चिम्लेर बस्ने, नाकको प्वालबाट श्वास–प्रश्वास भएको ख्याल गर्ने, उत्तानो परेर सुत्ने, आँखा चिम्लेर शरीरका विभिन्न अंगहरुलाई क्रमैसँग अनुभूत गर्ने र शरीरका प्रत्येक अंगलाई शिथिल बनाउने गर्नु पर्छ । त्यसैगरी हल्का खेल खेल्ने, हास्यविनोद गर्ने, उत्तानो सुतेर तीन चारपटक मेरुदण्डासन गर्ने, घोप्टो परेर आराम मिल्नेगरी सुत्ने र सुमधुर संगित सुन्दै शिथिल बन्ने जस्ता क्रिया गर्नु पर्छ । पर्याप्त विश्रामबाट स्नायु दुर्बलताको समस्या हट्छ । अजीर्ण, कब्जियत, अनिद्रा, उच्च रक्तचाप र मुटुको रोगबाट समेत लाभ प्राप्त हुन्छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *