मृगहरुको मनमोहकताले कालान्तरमा मृगस्थली नाम रहन गएको प्रतीत हुन्छ ।

 


काठमाडौं, मंसिर ५ गते ।

मञ्जुश्री नामक एक बौद्धाचार्य महापुरुषले काठमाडौं उपत्यकाको दक्षिणतिर रहेको चोभारको डाँडो काटी दहको पानी बाहिर बगाएको भन्ने किवंदन्ती रहेको छ । त्यसपछि उपत्यकामा बस्ती बसाएका थिए । मृगस्थली क्षेत्रका आसपासका होचा क्षेत्रहरु समेत घना जंगलमय हुन गएको बुझिन्छ । उक्त क्षेत्रलाई श्लेषमान्तक जंगल पनि भन्ने गरेको पाइन्छ । भाषा वंशावली अनुसार शिवजीका आज्ञाले श्लेषमान्तक नामक एक नाग रहने गरेकाले पनि सो जंगलको नाम श्लेष्मान्तक रहन गएको बुझिन्छ ।उक्त जंगलमा अनेकन् पशु–पंक्षीहरुको ठूलो बासस्थान हुन गयो । मृगहरुको मनमोहकताले कालान्तरमा मृगस्थली नाम रहन गएको प्रतीत हुन्छ । श्लेष्मान्तक जंगलको महिमाका बारेमा प्राचीनतम् श्री स्वस्थानी व्रतकथामा पनि वर्णन गरेको पाइन्छ ।

महादेवकी अर्धाङ्गिनी सतीदेवीको शव महादेवले बोकी हिँड्दा सोही क्षेत्रको एक स्थानमा गुह््य पतन भएको थियो । त्यसैले उक्त स्थानको नाम गुह्येश्वरी रहेको उल्लेख छ । सोही व्रतस्थानमा शिवका ज्योर्तिलिङ्ग, किराँत र किराँतिनी रुपका महादेव–पार्वतीका वनविहाररुपी क्रिडास्थल रहेको उल्लेख छ । द्वापरयुगीन महर्षि वेदव्यासद्वारा लिखित अठार महापुराणहरुमध्येको एक स्कन्द महापुराणको हिमवत्खण्डमा स्लेषमान्तक वा मृगस्थली वनक्षेत्रको महिमाको वर्णन गरिएको छ । मञ्जुश्रीका सुकर्मबाट काठमाडौं उपत्यकामा बस्ती बसेको थियो भन्ने विश्वास गरिन्छ । श्लेषमान्तक अर्थात् मृगस्थली क्षेत्रको पुरातात्विक एवम् वास्तुकलाका अतिरिक्त ऐतिहासिक महत्व समेत रहेको छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *