विशेषतः मुस्ताङ जिल्लामा झुमा र ढावा प्रथा प्रचलनमा रहेको छ ।


काठमाडौं, कार्तिक २९ गते ।

नेपालको उत्तरी हिमाली क्षेत्र विशेषतः मुस्ताङ जिल्लामा झुमा र ढावा प्रथा प्रचलनमा रहेको छ । झुमा भनेको बौद्ध कन्या हो भने ढावा भनेको लामा हो । मुस्ताङ जिल्लामा बसोबास गर्ने बौद्धमार्गी शेर्पा, लामा र लोवा समुदायमा झुमा तथा ढावा प्रथा प्रचलनमा रहेको छ । उक्त समुदायहरुमा ३ वटी छोरी जन्मिएमा माइली छोरीलाई झुमा अर्थात् बौद्ध कन्या बनाउने चलन छ । त्यसैगरी ३ छोरा भएमा माइलो छोरालाई ढावा बनाउने चलन रहेको छ ।

झुमा र ढावाहरुले स्थानीय समाजमा गुरु पुरोहित र धर्मोपदेशको रुपमा काम गर्छन् । झुमा र ढावा बन्नेहरुका लागि गुरुहरुबाट तिब्बती, बौद्ध धर्म र बोन धर्म बमोजिम प्रशिक्षित गरिन्छ । सन्त्राप भनिने रातो रङ्को पोषाक लगाएपछि झुमा बनेर गुम्बाहरुमा बस्छन् । झुमाहरुले आजीवन अविवाहित रही धर्म र धार्मिक संस्कारप्रति आस्थावान रहने प्रतिज्ञा गरेका हुन्छन् । त्यसैगरी ढावाहरुले पनि सांस्कृतिक परम्परा अनुसार आजीवन गुम्बामा रहेर काम गर्छन् ।

नेपालको उत्तरी जिल्ला मुस्ताङमा यो प्रथा प्रचलनमा रहेको पाइन्छ । झुमा र ढावाहरुले कपाल खौरने कार्यलाई स्यासार्कन भन्ने गरिन्छ । झुमाहरुले आजीवन अविवाहित रहनु पर्ने संस्कार भएतापनि उनीहरुबाट शिशु जन्मिएमा छोरालाई भावी ढावा र छोरीलाई भावी झुमा बनाउने प्रचलन रहेको छ । कतिपय झुमा र ढावा बाध्यतावश बनाइन्छ भने कतिपय स्वैच्छिक रुपमा पनि बनेका हुन्छन् । वैवाहिक जीवनबाट पीडित भएका, एक्लो भएका र जीवनबाट विरक्तिएकाहरु पनि झुमा र ढावा बन्ने गर्छन् ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *