
काठमाडौँ, कार्तिक ७ गते ।
कोरोना संक्रमण शुरु भएयता नेपालमा ५ हजारभन्दा बढी स्वास्थ्यर्मीहरुलाई कोरोना संक्रमण पुष्टि भएको छ । १ चिकित्सकसहित ३ स्वास्थ्यकर्मीले संक्रमणकै कारण ज्यान गुमाएका छन् । दिनहुँ फ्रन्टलाईनमा रहेर खटेकै कारण उनीहरु संक्रमणको जोखिममा रहेका छन् । ५ हजारभन्दा बढी संक्रमित स्वास्थ्यकर्मीहरुमध्ये २ हजारको संख्यामा चिकित्सिक रहेका छन् । उनीहरुले विशुद्ध सेवाभावले अनवरत खटिरहेका छन् । नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीका अनुसार चिकित्सक सहितका स्वास्थ्यकर्मीहरुले कोभिड–१९ विरुद्ध युद्ध लडिरहका छन् । राज्यले उनीहरुको सुरक्षा र सुविधामा पर्याप्त ध्यान नदिएको समेत प्रतिक्रिया दिएका छन् । यति धेरै संख्यामा स्वास्थ्यकर्मीहरु संक्रमित हुनुलाई सामान्य रुपमा लिन नहुने स्वास्थ्य क्षेत्रका विज्ञहरुले बताएका छन् ।